सरकारलाई एमाले स्याङ्जाको विरोध पत्र: ओलीको तत्काल रिहाइको माग

स्याङ्जा, चैत १५, २०८२ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जा जिल्ला कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री बालेन शाहलाई विरोधपत्र पठाएको छ। प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको उक्त पत्रमा दुवै नेताको तत्काल र बिना सर्त रिहाइको माग गरिएको छ।

एमाले स्याङ्जाले फागुन २१ गतेको निर्वाचनपछि गठन भएको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा गरिएको पक्राउलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण कदमको संज्ञा दिएको छ। जिल्ला कमिटीले यस घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै कडा शब्दमा भर्त्सना गरेको छ।

पत्रमा भदौ २४ मा भएका हिंसात्मक घटनाहरू—सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र व्यक्तिको हत्या—मा संलग्नहरूप्रति कार्की आयोग मौन बसेको भन्दै आलोचना गरिएको छ। ती घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न समेत माग गरिएको छ।

साथै, एमाले स्याङ्जाले गैरकानुनी रूपमा पक्राउ गरिएका सबै लोकतान्त्रिक पक्षधरहरूको शीघ्र रिहाइ नभए जनसहभागितासहित कडा आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। सम्भावित आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार र स्थानीय प्रशासनले लिनुपर्ने पनि पत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *