१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल ले केपी शर्मा ओली र रमेश लेखक को पक्राउप्रति औपचारिक रूपमा आपत्ति जनाएको छ।
संगठनले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिमा उक्त पक्राउलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको आधारमा गरिएको आरोप लगाउँदै यसप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ। विज्ञप्तिमा कानुनी राज्य, लोकतान्त्रिक मूल्य तथा विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ।
तरुण दलका अनुसार यस्ता कदमहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने मात्र नभई देशमा अस्थिरता निम्त्याउने जोखिम पनि बढाउनेछ। संगठनले सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न तथा कानुनी प्रक्रिया पारदर्शी, निष्पक्ष र विधिसम्मत बनाउन आग्रह गरेको छ।
साथै, देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ। शान्ति, स्थिरता र समृद्धिका लागि राजनीतिक दलहरूबीच संवाद र सहकार्य अपरिहार्य रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
अन्त्यमा, नेपाल तरुण दल ले राष्ट्रलाई अस्थिरतर्फ लैजाने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
