राजनीतिमा सफलताको मापन केलाई मान्ने? चुनाव जित्नुलाई मात्र वा जनताको जीवनस्तरमा ल्याएको परिवर्तनलाई? आज म एउटा यस्तो दोसाँधमा उभिएर आफैँलाई प्रश्न गरिरहेको छु, जहाँ मेरा उपलब्धिहरू त देखिरहेका छन् तर जनमतको ऐना भने धमिलो देखिएको छ।
हिजोको अर्जुनचौपारी सम्झिँदा आज पनि एउटा चित्र आँखा अगाडि आउँछ जुन पालिका कार्यसम्पादनका दृष्टिकोणले देशभरका पालिकाहरूको सूचीमा ‘अन्तिम’ स्थानमा थियो। कसैले नचिताएको र आशा मारिसकेको त्यो दुर्गम भूगोललाई हाम्रो जनप्रतिनिधि र कर्मचारीको टोलीले एक ढिक्का भएर काँध हाल्यौँ। हामीले गफ र आश्वासनको खेती गरेनौँ, बरु ‘सुशासन’ लाई मूल मन्त्र बनायौँ। सेवा प्रवाहलाई यति चुस्त र पारदर्शी बनायौँ कि एउटा सामान्य नागरिकले सरकारी कार्यालय आउँदा कुनै भनसुन वा सास्ती खेप्नु परेन। भ्रष्टाचारलाई शून्यमा झार्नु हाम्रो पहिलो सर्त थियो र त्यसमा हामी कहिल्यै लचिलो भएनौँ।
हामीले कुनै पनि स्वार्थ समूहलाई नीतिगत निर्णयमा हाबी हुन दिएनौँ। काम गर्दा ‘मेरो र तेरो’ भनेर कहिल्यै पार्टीगत चस्माले हेरेनौँ र विभेद गरेनौँ। आफ्ना कार्यकर्ता पाल्नका लागि ढुकुटी सिध्याउने ‘वितरणमुखी’ कार्यक्रम ल्याउनुको साटो हामीले जगदेखिको विकास रोज्यौँ। भूगोलको विकटताले उपचार नपाउने अवस्थाको अन्त्य गर्दै घर-घरमा स्वास्थ्य सेवा पुर्यायौँ। एक इन्च पनि पिच बाटो नभएको पालिकाका दुर्गम गाउँ-गाउँमा आज चिल्ला कालापत्रे सडकहरू पुगेका छन्। यो कुनै चमत्कार थिएन, हाम्रो दृढ इच्छाशक्तिको प्रतिफल थियो। विद्यालयहरूमा वास्तविक पढाइ हुने वातावरण सुनिश्चित गर्यौँ। यति मात्र होइन, ‘नवग्रह’ जस्ता धार्मिक र पर्यटकीय माध्यमबाट अर्जुनचौपारी र स्याङ्जाको गरिमालाई देश-विदेशमा चिनाउन सफल भयौँ। जसको फलस्वरूप हामीले कैयौँ राष्ट्रिय स्तरका पुरस्कार र सम्मान पनि प्राप्त गर्यौँ।
धेरैका लागि ‘महिला सशक्तीकरण’, ‘युवा सशक्तीकरण’ र ‘जातीय विभेद अन्त्य’ केवल चुनाव जित्ने आकर्षक नारा मात्र हुन्। तर हामीले यी विषयलाई चुनावी भाषणमा मात्र सीमित राखेनौँ। हामीले यसलाई व्यवहारमै उतार्यौँ। राष्ट्रिय स्तरमा जुन नाराहरू सुनिन्छन्, ती कुराहरूलाई अर्जुनचौपारीका जनताले प्रत्यक्ष देख्ने र अनुभूति गर्ने गरी कार्यान्वयनमा ल्यायौँ। म यो दाबी गर्दिनँ कि हामीले सबै कुरा पूर्ण गर्यौँ। केही क्षेत्रमा अझै काम गर्न बाँकी थियो, कतिपय योजनाहरू समय अभाव वा स्रोतको कमीले सोचेजस्तो हुन सकेका थिएनन्। तर जति गर्यौँ, अर्जुनचौपारीको भविष्यलाई केन्द्रमा राखेर गर्यौँ र विरासतको चिहानमा उभिएको स्याङ्जाको साख फिर्ता ल्याउनुपर्छ भनेर गर्यौँ।
“हाम्रा कुरा सुन्दैनन्” भन्ने आरोप हामीले धेरै खेप्यौँ। हो, हामीले ती कुराहरू सुनेनौँ जसले विधिको शासन र सुशासनलाई मिच्न खोज्थे। व्यक्तिगत स्वार्थ र अनुचित मागहरूका अगाडि हामी कहिल्यै झुकेनौँ। सुशासन कायम गर्ने सवालमा हामीले कसैसँग कुनै प्रकारको ‘कम्प्रोमाइज’ (सम्झौता) गरेनौँ। सायद, यही निस्वार्थ अडान नै धेरैका लागि ‘अप्रिय’ बन्ने कारण बन्यो।
यस यात्रामा आफ्नै पार्टीका ती साथीहरू, जसका व्यक्तिगत र नाजायज स्वार्थहरू हामीले पूरा गर्न सकेनौँ, उनीहरू सुरुदेखि नै विरोधमा उत्रिएका थिए। त्यतिबेला हामीलाई लागेको थियो “केही स्वार्थी व्यक्तिहरू साथमा नभए पनि के भो र, आखिर आम जनता त हाम्रै साथमा छन् नि!” तर आज महसुस हुँदैछ, न ती स्वार्थी साथीहरू हाम्रो साथ रहे, न त जनता नै वास्तवमा हाम्रा साथमा रहेछन्।
धेरैले भन्नुहोला “यो त राष्ट्रिय लहर हो, यसमा स्थानीय सरकारको के दोष?” मलाई यो भ्रम थिएन कि म राष्ट्रिय राजनीतिको धारलाई एक्लै बदल्न सक्छु। तर मलाई र धेरै शुभचिन्तकहरूलाई एउटा ठूलो अपेक्षा थियो हामीले गरेका काम, बसालेको सुशासन र परिवर्तनका डोबहरू देखेर यहाँका जनताले केही फरक सोचिदिनेछन्। मैले सधैँ गर्वका साथ भन्ने गर्थें “जनता हाम्रै साथमा छन् र उनीहरू हामीले गरेका कामबाट खुसी छन्।” तर यो जनमत र भोटको परिणामले मेरो त्यो दाबीलाई निर्ममतापूर्वक गलत साबित गरिदियो।
हिजो “मैले राम्रो गरेको छु” भन्ने गर्वले छाती चौडा पारेर हिँड्ने म, आज जनमतको यो निर्मम प्रहारले खुम्चिएको महसुस गरिरहेको छु। जुन राष्ट्रिय नाराले देशमा दुई-तिहाइ ल्यायो, त्यही कुरा व्यवहारमा कार्यान्वयन गर्दा पनि आज जनताले साथ नदिँदा मलाई एउटा नयाँ पहिचान मिलेको छ। यो मतपरिणामले मलाई ‘एक असफल नेता’ को पगडी गुँथाइदिएको छ। (तिवारी अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष हुन्।)
