स्याङ्जा, चैत्र २४ (सोमबार) – स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका–४, मडकिनास्थित घुम्तीमा सोमबार साँझ भएको एक जिप दुर्घटनामा परी चालकसहित ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार, विरुवा भित्री सडक खण्डमा ग १ ज ७०८४ नम्बरको जिप घुम्तीबाट विरुवा तर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो। दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन।
घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको विस्तृत स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र दुर्घटनाको पूर्ण विवरण छिट्टै सार्वजनिक गरिने बताएको छ।
