वालिङ — ॐकार इभेन्ट्स हब वालिङको आयोजनामा सञ्चालन हुन लागेको ‘1st EXPO पर्व’ को तयारी तीव्र रूपमा अघि बढिरहेको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गरिने उक्त कार्यक्रम चैत्र २६ गतेदेखि वैशाख २ गतेसम्म वालिङ खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य उद्देश्य वालिङलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्नु रहेको छ। संस्थाका अध्यक्ष विजय मल्लका अनुसार EXPO मार्फत वालिङ तथा स्याङ्जा जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरूको व्यापक प्रचार–प्रसार गरिनेछ। साथै, स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको उनले बताए।
EXPO पर्वमा दैनिक लाइभ कन्सर्ट, राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति, अन्तरविद्यालयस्तरीय लोकदोहोरी गीत प्रतियोगिता, टिकटक प्रतियोगिता, स्थानीय खानाका परिकारहरूको प्रदर्शनी, कृषि प्रदर्शनी तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धनजस्ता विविध कार्यक्रमहरू समावेश हुनेछन्।
यसका साथै, लागू पदार्थ दुरुपयोगविरुद्ध जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिने आयोजकले जनाएको छ। युवापुस्तालाई लागू पदार्थ सेवनबाट टाढा राख्ने उद्देश्यले सचेतना अभियान, अन्तरक्रिया तथा सन्देशमूलक प्रस्तुतिहरू समेटिनेछन्।
धार्मिक तथा सांस्कृतिक पक्षलाई सशक्त बनाउन भजन–कीर्तन कार्यक्रमसमेत आयोजना गरिनेछ, जसले कार्यक्रमलाई थप आध्यात्मिक तथा सांस्कृतिक रूपमा समृद्ध बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार EXPO पर्वले स्थानीय व्यवसाय प्रवर्द्धन, पर्यटन विकास, सामाजिक सचेतना अभिवृद्धि तथा युवाहरूको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा दर्शकको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
