नेपालकै पहिलो नवग्रह मन्दिर आसपासको क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा जोड्ने संकल्पका साथ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले होमस्टे परिकल्पना सहित अघि बढेको छ ।
स्याङ्जामा आफ्नो पालिकालाई धार्मिक पर्यटनको महत्वपुर्ण केन्द्रका रुपमा साबित गरेको अर्जुनचौपारीले त्यहि पर्यटनलाई फराकिलो बनाउनका साथै नवग्रहको महिमा रोसन गराउन होमस्टे अर्थात् घरबास कार्यक्रम अघि सारेको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

गाउँपालिकाले मंगलबार मात्रै सार्वजनिक सूचना जारी गर्दै स्थानीय बासिन्दा तथा टोल समूहलाई होमस्टे सञ्चालनका लागिआवेदन दिन आह्वान समेत गरेको हो । नवग्रह मन्दिर दर्शन गर्न आउने भक्तजन तथा पर्यटकलाई स्थानीय कला, संस्कृति, परम्परा र अर्गानिक खानपानसहितको आतिथ्यता प्रदान गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको पालिकाको भनाई छ । यसबाटएकातर्फ धार्मिक पर्यटन प्रवर्द्धन हुने र अर्कोतर्फ स्थानीयस्तरमा आम्दानीका नयाँ अवसर सिर्जना हुने अपेक्षा छ ।
स्थानीय सहभागितामै आधारित भएर नवग्रह क्षेत्रको विकास गर्न खोजिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याललेबताए । सुचनामा होमस्टे सञ्चालनका लागि निश्चित मापदण्डसमेत तोकिएका छन् । कम्तीमा दुईवटा सफा पाहुना कोठा, व्यवस्थित शौचालय, स्थानीय उत्पादनमा आधारित अर्गानिक खाना, सात्विक भोजन र अनुशासित वातावरण अनिवार्यगरिएको छ । साथै, बेलुकीको समयमा भजन–कीर्तनमार्फत आध्यात्मिक वातावरण निर्माण गर्नुपर्ने व्यवस्था पनि राखिएकोछ ।
यस्तै, दर्ता प्रक्रियाका लागि आमा समूह शाखाबाट तोकिएको फारम भर्नुपर्नेछ भने इच्छुकहरूले सूचना प्रकाशित भएकोमितिले १५ दिनभित्र गाउँपालिका वा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । छनोटमा परेका घर वा समूहलाईगाउँपालिकाले तालिम र प्राविधिक सहयोग उपलब्ध गराउने समेत सुचनामा उल्लेख गरीएको छ ।
