वालिङमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वालिङ, स्याङ्जा — अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लियो क्लब अफ वालिङ सिटीले आयोजना गरेको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता वालिङ नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। प्रतियोगितामा वालिङ क्षेत्रका १८ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए।

वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा श्री भुम्रे माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत किन्जल भुर्तेल प्रथम भएकी छन्। उपल्लो पेखु माध्यमिक विद्यालयकी कक्षा १० की समृद्धि पौडेल द्वितीय, पूर्णमृत भवानी माध्यमिक विद्यालयकी कक्षा १२ की स्मारिका अर्याल तृतीय भएका छन्।

त्यसैगरी, पाइनियर्स माध्यमिक विद्यालयकी कक्षा ९ की सुकृत्या श्रेष्ठ र पिसजोन माध्यमिक विद्यालयकी कक्षा ११ की तोलाकुमारी एस.के.ले सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगितामा प्रथम हुने किन्जल भुर्तेलले नगद रु. ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। द्वितीय हुने समृद्धि पौडेलले नगद रु. २ हजार, मेडल र प्रमाणपत्र तथा तृतीय हुने स्मारिका अर्यालले नगद रु. १ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। सान्त्वना स्थान हासिल गर्ने सुकृत्या श्रेष्ठ र तोलाकुमारी एस.के.ले जनही नगद रु. ५ सय, मेडल र प्रमाणपत्र प्राप्त गरे।

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, लियो जिल्ला परिषद् ३२५ एम नेपालका अध्यक्ष लियो दीक्षान्त प्रताप खाँण, शिक्षा शाखा प्रमुख दुर्गा कुमारी न्यौपाने, योजना शाखा प्रमुख ढालबहादुर केसी, पूर्व स्रोतव्यक्ति भोजराज गुरुङलगायतको उपस्थिति थियो।

कार्यक्रममा वरिष्ठ लिडरहरू लायन चेतनारायण श्रेष्ठ, सजना कोइराला र दीपक लम्साल, जिल्ला सहसचिव किशोर बस्याल, ग्रीन होमका अध्यक्ष रामु लुइँटेल तथा शिक्षक प्रतिनिधि दीपक पराजुलीलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता लियो क्लब अफ वालिङ सिटीका अध्यक्ष लियो सुदेश डुर्मेले गरेका थिए। कार्यक्रम संयोजक कृष्ण काफ्लेले स्वागत मन्तव्य राखेका थिए भने क्लबका सचिव आशिष भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *